• ON AIRNamobuddha Khabar ( News Bulletin)
  • UP NEXTLook Bagaicha
समाचार

आज हरितालिका तीजको, हिन्दु महिलाहरु ब्रत बसी पूजा आराधना गरी मनाईदै ।।

आज हरितालिका तीजको, हिन्दु महिलाहरु ब्रत बसी पूजा आराधना गरी मनाईदै ।।
हिन्दू नारीहरुको महान् चाड हरितालिका तीज अन्तर्गत आज दोस्रो दिन व्रत बसेर मनाईदै छ । सखीहरुद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास व्रतलाई हरितालिका तीज भनिएको हिन्दू शास्त्रहरुमा पाइन्छ । हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ । भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौंको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, नुवाकोटको दुप्चेश्वर, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा बिहानैदेखि घुँइचो लागेको छ । यस दिन शिवको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् । यस अवसरमा सरकारले महिलाका लागि बिदा पनि दिने गरेको छ ।