• ON AIR
  • UP NEXTJhee Newa ( Program in Newari Language)
समाचार

भूकम्प प्रभावितलाई तीन लाख रुपैयाँ अनुदान ,दोस्रो किस्तामा १ लाख ५० हजार दिइने निर्णय ।।

भूकम्प प्रभावितलाई तीन लाख रुपैयाँ अनुदान ,दोस्रो किस्तामा १ लाख ५० हजार दिइने निर्णय ।।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने भएको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख ५० हजार र बाँकी १ लाख गरी तीन लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको हो । घर पुनर्निर्माणका लागि प्रभावितले पाउने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ र्पुयाउने सरकारको यसअघिको निर्णय अनुसार प्रभावितले ३ लाख अनुदान पाउने भएका छन् । तर तेस्रो किस्ताको अनुदान रकम मध्येबाट २५ हजार रुपैयाँ शौचालय, बायोग्यास र सोलारका लागि प्रयोग गर्ने गरी उपलब्ध गराउने निर्णय भएको प्राधिकरणका कार्यकारी अधिकृत शुसिल ज्ञवालीले जानकारी दिनुभयो । बैठकले प्राधिकरणको आर्थिक वर्ष २०७३÷०७४ को बजेट तथा कार्यक्रमलाई पनि स्वीकृत गरेको छ । त्यस्तै प्राधिकरणको संगठनात्मक संरचना र कार्य प्रणालीको पुनरावलोकन र जनशक्ति व्यवस्थापनबारे थप छलफल गर्ने निर्णय गरेको छ । प्राधिकरणका निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालले क्षेत्रीय स्तरमा रहेका उपक्षेत्रीय कार्यालयलाई जिल्ला समन्वय समितिको सचिवालयमा परिणत गरी पुनर्निर्माणको अनुगमन लगायतका समग्र काममा जिल्ला समन्वय समितिलाई थप प्रभावकारी बनाउन, उपत्यकामा तत्काल अनुदान सम्झौता अघि बढाउन र बाँकी जिल्लामा लाभग्राही सर्भेक्षण गर्न कार्ययोजना अनुसार काम गर्न निर्देशन दिनु भएको छ । साथै असोज २१ गतेसम्ममा प्राविधिक समस्या नभएका र अनुदान सम्झौता सम्पन्न भइसकेका घरधनीलाई प्राथमिकतामा साथ अनुदान रकम उपलब्ध गराउन पनि उहाँले सम्बन्धित सबैलाई निर्देशन दिनु भएको प्राधिकरणले जनाएको छ ।