• ON AIR
  • UP NEXTShanti Geet
समाचार

रेडियो नमोबुद्ध १३ औँ बर्षमा प्रवेश

धुलिखेल, १२ असाेज: काभ्रेको धुलिखेलबाट प्रसारण भइरहेको रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्ज १३ वर्षमा प्रवेश गरेको छ । जुगल एशोसियसन अफ नेपालले २०६४ साल असोज १२ गतेबाट काभ्रे लगायत राजधानी पूर्वका जिल्लाहरुकै पहिलो सामुदायिक रेडियोका रुपमा रेडियो नमोबुद्धले आफ्नो नियमित प्रसारण शुरु गरेको थियो ।
 
१३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुक्रबार रेडियोले विशेष कार्यक्रम गरेर मनाएको छ । कार्यक्रममा बोल्दै रेडियोका अध्यक्ष भक्त स्याङतानले रेडियोले आफ्नो स्थापना काल देखि नै समुदायलाई आवश्यक पर्ने सुचना दिइरहेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । ‘शान्त, समृद्ध र समावेश नेपालको बेग्लै आवाज भन्ने नारा लिएर स्थापना भएको रेडियोले समाजलाई त्यहि बाटोमा डोहोर्याउन सहयोगी भूमिका निर्वाह गरेको छ, अध्यक्ष स्याङतानले भने ‘रेडियोले बदलिँदो परिस्थितिलाई ध्यानमा राख्दैँ स्रोताको इच्छा, रुचि र चाहाना अनुसारको सुचना, कार्यक्रम प्रसारण गर्ने छ ।’
 
हाल दैनिक १३ घण्टा प्रसारण भइरहेको रेडियोले समुदाय केन्द्रित कार्यक्रमहरु उत्पादन र प्रसारण गर्दै आइरहेको रेडियोका स्टेशन म्यानेजर हिरामान लामाले जानकारी दिए । ‘रेडियोको माध्यमबाट समाजमा भइरहेका गतिविधि सत्य, निष्पक्ष र यथार्थ परक ढंगले आम स्रोता माज पुर्याउने हाम्रो दायित्वबाट हामी कहिल्यै पछि हड्ने छैनौँ, उनले भने ‘राजनीतिक परिवर्तन देखि विपद्का बेला समेत रेडियोले उचित भूमिका खेलेर काभ्रे लगायत आसपासका नागरिकलाई सुशुचित बनाउन पहरेदारको काम गरेको छ ।’